काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री कार्यालयले गर्ने मूल्याङ्कन प्रणालीलाई सुधार गर्नुपर्ने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री दाहालले आफ्नो मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कन नजिताप्रति असन्तुष्टि प्रकट गर्दै प्रधानमन्त्री कार्यालयले गर्ने मूल्याङ्कन प्रणालीलाई सुधार गर्नुपर्ने बताएका हुन् ।
मन्त्रालय १९ वटा आयोजनामध्ये ८ वटा सुरु हुन लागेको, ३ वटा सम्पन्न भइसकेको र ८ वटा जारी रहेको अवस्थामा रहेकाले मन्त्रालयको प्रगति ५० प्रतिशतमाथि रहेको उनले जनाए । मन्त्री दाहालले ग्वार्को फ्लाइओभरको ८२ प्रतिशत काम सम्पन्न भइसकेको र सम्पन्न हुने चरणमा रहेको बताए ।
बिभिन्न राजमार्ग निर्माणको काम पनि द्रूत गतिमा अघि बढिरहेको उनको भनाइ छ । मन्त्री दाहालले यातायात नीति अन्तिम चरणमा पुगेको र प्रदेशको सुझावका आधारमा आवश्यक कानून सदनमा लैजाने जानकारी दिए ।
समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय/आयोजनाको पुँजीगत बजेटको कार्यप्रगति(अर्धवार्षिक)को वारेमा छलफल गरेको हो ।