काठमाडौं, ३० साउन — काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ८०औँ स्वतन्त्रता दिवस विविध कार्यक्रमसहित मनाइएको छ। भारतीय समुदाय, नेपालमा रहेका भारतका मित्रहरू, दूतावासका अधिकारी तथा उनीहरूका परिवारको सहभागितामा शनिबार स्वतन्त्रता दिवस मनाइएको हो।


ADVERTISEMENT


कार्यक्रमको सुरुवात ‘वन्दे मातरम्’को गायनसँगै भएको थियो। त्यसपछि नेपालका लागि भारतीय राजदूतले राष्ट्रिय झण्डा फहराउनुभएको थियो भने राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। कार्यक्रममा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले ८०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा दिनुभएको सम्बोधन पनि प्रसारण गरिएको थियो।


ADVERTISEMENT

# # #


स्वतन्त्रता दिवसका अवसरमा राजदूतले भारतीय सशस्त्र सेनाका ११ जना दिवंगत सैनिकका विधवा तथा निकटतम हकदारलाई सम्मान गर्नुभएको थियो। उहाँहरूलाई ‘आर्मी ग्रुप इन्स्योरेन्स फन्ड’ (AGIF) अन्तर्गत कुल ८ करोड २० लाख नेपाली रुपैयाँ बराबरको बीमा रकमको चेक हस्तान्तरण गरिएको दूतावासले जनाएको छ।

यस अवसरमा दूतावासले ८०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेतालाई पनि सम्मान गरेको थियो। ‘विकसित भारत’ विषयमा आयोजित चित्रकला प्रतियोगिता, ‘विकसित भारत रन’ तथा अन्तरविद्यालय क्विज प्रतियोगिताका विजेतालाई सम्मान गरिएको हो। विशेष संस्करणको ‘भारत को जानिये’ क्विजका विजेतालाई पनि कार्यक्रममा पुरस्कृत गरिएको थियो।

दूतावासले नेपालका सातै प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयलाई पुस्तक अनुदान उपलब्ध गराउने घोषणा पनि गरेको छ। शैक्षिक स्रोतसाधनमा पहुँच विस्तार गर्ने उद्देश्यले उक्त पहल अघि बढाइएको दूतावासले जनाएको छ।

स्वतन्त्रता दिवस समारोहमा नेपालस्थित भारतीय समुदाय तथा भारतका मित्रहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीले देशभक्तिपूर्ण गीतसहित विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए।