काठमाडौँ– महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाई गरिएको छ ।


ADVERTISEMENT


साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेको थियो । गुठी संस्थान र कोषले साधुसन्तहरुको बर्गिकरण गर्दै त्यहिअनुसारको खर्चको व्यवस्था गर्दै आएको छ ।


ADVERTISEMENT

# # #


नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको छ । बर्ग अनुसार रु दुई सय देखि ९ हजार सम्म दक्षिणा दिइएको गुठी संस्थानका सहायक प्रशासक बैकुण्ठ प्रसाद रेग्मीले जानकारी दिए । साधुसन्त बिदाइकै लागि गुठी संस्थानले छुट्याएको बजेटमा आधा रकम थप गर्दै कोषले साधुसन्तको विदाई गर्ने गरेको उनले बताए ।

महाशिवरात्रिमा पशुपतिनाथमा दर्शनका लागि आएका साधुसन्तलाई पशुपतिनाथको बिभिन्न स्थानमा राखी खाने, बस्ने एवम् धुनीका लागि काठको व्यवस्था गरिएको थियो ।

महाशिवरात्रिका लागि विभिन्न स्थानबाट आएका साधुसन्तलाई फागुन कृष्ण औसीका दिन दक्षिणासहित बिदाइ गर्ने प्राचीन परम्परा रहेको जनाइएको छ ।