ढोरपाटन (बागलुङ)–आज बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङखण्ड अवरुद्ध भएको छ ।
सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुमखण्ड अवरुद्ध भएको हो । निसीखोला गाउँपालिका– ६ पातीहाल्नेमा डेढ फिट हिउँ परेको छ ।
सडक अवरुद्ध हुँदा पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत स्थानबाट सञ्चालन हुने सवारीसाधन ठप्प भएको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए । अहिले पनि निरन्तर हिमपात भइरहेको उनले बताए ।
‘बिहानैदेखि वर्षा भएको थियो, अहिले हिमपात भइरहेकाले तत्कालै सडक खुलाउन सकिने अवस्था छैन । हिमपात रोकिएर घाम लाग्यो भने मेसिन प्रयोग गरेर सडक खुलाउनुपर्छ । बिहान काठमाडौंदेखि आएका रात्रिबस सञ्चालन भए पनि अहिले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्,’ अध्यक्ष घर्तीमगरले भने ।
नेपालको एक मात्र ढोरपाटन सिकार आरक्षको माथिल्लो भेगमा पनि बाक्लो हिमपात भएको छ । बिहानैदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको ढोरपाटन नगरपालिका– ९ का स्थानीय चकबहादुर अदैले जानकारी दिए ।