काठमाडौं – प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा बिभिन्न आठवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
दुईपक्षीय वार्ता पछि सोमबार नयाँ दिल्लीस्थति हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थीतिमा सुरक्षा, शैक्षिक, दिगो शहरी बिकास लगाएतका आठवटा समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो क्रममा भारतको गुजरातस्थित गान्धीनगरमा रहेको नेशनल फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
त्यस्तै भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपीए) बीच शैक्षिक अनुसन्धानका बिषयमा र आयुर्वेद र अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य गर्न भारत सरकार र नेपाल सरकारबीच समझदारी गरिएको छ । त्यस्तै भारतको राष्ट्रिय सुशासन केन्द्र र नेपालको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपालका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम कार्यक्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
त्यसैगरि दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार (स्याटकम) नेटवर्क स्थापना गर्ने विषयमा भारत सरकारको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस्तै दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्यका लागि दुईदेशका अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भएको भने स्वास्थ्य तथा चिकित्साको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा पनि समझदारी बनेको छ ।
दुईपक्षीय वार्ता पछि जनकपुरधाम र अयोध्या जोड्नका लागि रेल सेवाको सुरुवात गरिएको छ भने बनबासामा एकीकृत जाँच चौकी, झापामा ग्रिनफिल्ड पेट्रोलियम भण्डारण केन्द्र र ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माणको संयुक्त शिलान्यास गरिएको छ ।


























