काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजसंस्था इतिहास भइसकेकाले फर्केर आउने कुनै सम्भावना नरहेको बताएका छन् ।
शुक्रबार आफ्नो जन्मदिनका अवसरमा आफ्नै निवास कोटेश्वर बिरुवा रोप्दै अध्यक्ष नेपालले राजसंस्था फर्कने कुनै सम्भावना नरहेको बताए । देशको लागि विकास गर्ने चाहना भए चुनाव लडेर प्रधानमन्त्री बन्न उनले सुझाव दिए । उनले भूमाफियासंग मिलेर सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाए ।
उनले भने, ‘इतिहास भइसकेको कुरा फर्केर आउने कुरा छैन । कोही त्याग, तपस्या र बलिदानको प्रतिमूर्ति भए, विकासको महान अभियन्ता भए त्यस्तो व्यक्तिलाई सरकारको प्रधानमन्त्री बनाइदिए हुन्छ । तर त्यसका लागि संसदमा आउनुपर्छ, चुनाव जित्नुपर्छ, तब हुन्छ ।’
आफुले ल्याएको अध्यादेश फेल वा निष्कृय भए सरकारलाई नैतिक संकट पर्ने उनको भनाइ छ । अध्यक्ष नेपालले दलसम्बन्धी कानून ल्याएर दल फुटाउने षडयन्त्रकारीहरुको अन्त्य हुने भन्दै आफ्नो पार्टी कुनै हालतमा नफुट्ने जिकिर गरे ।
रौतहटबाट पहिलोपटक अभियानका रूपमा सुरुवात गरिएको वृक्षारोपण अभियानलाई एक्यवद्धता जनाउदैं अध्यक्ष नेपालले फलको विरुवा रोपेका हुन् ।