काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बस्ने प्रतिनिधि सभाको बैठकमा बोल्दा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भएको छ ।


ADVERTISEMENT


ओली प्रधानमन्त्री ओली कोशी प्रदेश सभालाई सम्बोधन गर्न र पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्न विराटनगर जाने भएकाले प्रचण्ड बोल्दा प्रतिनिधि सभामा अनुपस्थित रहने भएको हो ।


ADVERTISEMENT

# # #


यसअघि गत माघ २४ गते प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले प्रतिनिधि सभामा सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए । त्यतिबेला प्रचण्डले प्रधानमन्त्री ओली उपस्थित नभएकोमा गुनासो गरेका थिए ।

आज सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक मध्याह्न १ः०० बजे बस्दैछ । संसद् सचिवालयलका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्नेछन् ।

यसैगरी बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

आजको बैठकमा सो संशोधनमाथि छलफल पनि हुने सचिवालयले जनाएको छ । वनमन्त्री ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि सभासमक्ष प्रस्तुत गर्नेछन् ।