काठमाडौं–पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा उत्पन्न तनावका क्रममा राज्य पक्षबाट भएको बल प्रयोगप्रति तीव्र असन्तुष्टि जनाउँदै सरकारलाई तत्काल हिंसात्मक कदम रोक्न र संवादको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन्।


ADVERTISEMENT


बिहीबार जारी चारबुँदे अपिलमा ओलीले राष्ट्रिय सुरक्षा र सामाजिक सद्भाव गम्भीर संकटमा पर्दासमेत सरकारले अपेक्षित संवेदनशीलता देखाउन नसकेको आरोप लगाए। उनले नागरिकको जीउधनको सुरक्षा गर्नु, विश्वासको वातावरण निर्माण गर्नु र सबै पक्षलाई वार्तामा ल्याउनु सरकारको पहिलो दायित्व भए पनि सरकार त्यसमा चुकेको टिप्पणी गरेका छन्।


ADVERTISEMENT

# # #


ओलीले अहिलेको परिस्थितिलाई थप भड्काउने गरी बल प्रयोग गर्नु समाधान नभएको स्पष्ट पार्दै, सरकारले तत्काल हिंसात्मक गतिविधि रोक्नुपर्ने र संवादमार्फत निकास खोज्नुपर्नेमा जोड दिएका छन्। “अत्यधिक बल प्रयोग र सरकारको मौनता शङ्कास्पद तथा भर्त्सनायोग्य छ,” भन्दै उनले शान्तिपूर्ण समाधान नै एकमात्र विकल्प भएको उल्लेख गरेका छन्।

उनले समाजलाई विभाजित गरी अस्थिरता सिर्जना गर्न खोज्ने तत्वहरू सक्रिय हुन सक्ने चेतावनी दिँदै नागरिक, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक–सामाजिक अगुवालाई संयम अपनाउन र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता जोगाउन आह्वान गरेका छन्।

ओलीले मुलुक जटिल मोडमा रहेका बेला राजनीतिक दलहरूले आरोप–प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने बताए। द्वन्द्व र हिंसाले कुनै समाधान नदिने उल्लेख गर्दै उनले संवाद, सहमति र जिम्मेवार राजनीतिक नेतृत्वबाट मात्रै वर्तमान संकटको दीर्घकालीन समाधान सम्भव हुने धारणा व्यक्त गरेका छन्।