काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद (सरोज) सिटौलाले यातायात सरकारले आयोजना गरेको श्रम रोजगार मेलालाई गाईजात्राको संज्ञा दिएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै सिटौलाले यातायात व्यवसायी राष्ट्रिय महासंघको प्रतिनिधित्वबिना श्रम रोजगार मेला गाईजात्रा मात्रै भएको बताएका हुन् ।
यस्तै, नेपालको सार्वजनिक यातायात यात्रुबाहक तथा मालवाहक क्षेत्रले करिब १५ लाख श्रमिकलाई प्रत्यक्ष रूपमा रोजगार प्रदान गरी ४० लाखभन्दा बढी नागरिकको जीवनयापनमा योगदान पुर्याएको उनको दाबी छ । उनले भनेका छन्, ‘यस क्षेत्रमा निजी क्षेत्रको करिब १२ खर्ब रुपैयाँ लगानी रहेको छ, जसले देशको आर्थिक वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको छ।’
सार्वजनिक यातायातले आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्दै व्यापार, उद्योग, पर्यटन तथा सेवाक्षेत्रलाई गतिशील बनाएको बताउदैँ उनले थपेका छन्, सले देशभित्र वस्तु तथा जनशक्ति सहज रूपमा ओसारपसार गर्न मद्दत गर्दै आयआर्जनका अवसर सिर्जना गरेको छ। साथै, इन्धन खपत घटाई प्रदूषण नियन्त्रणमा टेवा दिँदै वातावरणीय दिगोपनमा समेत योगदान पुर्याएको छ।’
सार्वजनिक यातायात क्षेत्रको सहभागिता न्यून वा नगण्य रहनु दूर्भाग्य रहेको बताउदैँ उनले अघि भनेका छन्, ‘तर नेपालमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार, गोष्ठी र छलफलहरू नीति निर्माण, योजना विकास, र समसामयिक समस्याहरू समाधानका लागि महत्त्वपूर्ण माध्यमहरुमा देशकै सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको सार्वजनिक यातायात क्षेत्रको सहभागिता न्यून वा नगण्य रहँदा तिनले व्यावहारिक तथा प्रभावकारी परिणाम दिन त सक्दैनन् नै ती कार्यक्रम पनि फिका र अर्थविहीन हुनेछ।’
यस्तै, सरकारी ढुकुटी रित्याउने र झारा टार्नको लागि मात्र गरिएका यस्ता कार्यक्रमहरुले स्वयं सरकारलाई नै लज्जित बनाएको हुनसक्ने उनको राय छ ।