काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेस र नेकपा एमालेले दुई तिहाईको सरकारको दम्भ देखाए पनि त्यसको सञ्चालन अन्त कतैबाट भइरहेको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभामा विशेष समय लिएर संसदलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारको दुई तिहाईको घोडा बिचौलियाले चलाएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘अहिले सरकार र सरकारी संयन्त्रमा बसेका साथीहरुले बडो घमण्ड गरेको सुनिन्छ, सरकार यो गर्दैछ, त्यो गर्दैछ । तर दुई तिहाईको घोडा कसले दौडाएको छ ?’ उनले भने, ‘मैँलै पहिले पनि भनेको थिएँ, अहिले पनि जोड दिएर भन्न चाहन्छु, सरकारको दुई तिहाईको घोडा प्रधानमन्त्री र मन्त्रीले चलाएको मैँले चाहीँ देखेको छैन । त्यो दुई तिहाईको घोडा विचौलियाले चलाएका छन् ।’

उनले सरकारले गर्ने नियुक्ति र सेटिङ सरकारले नभई बिचौलियाले गरिरहेको उनले जिकिर गरे । बिचौलियाले भने अनुसार नै निर्णय भएको उनले बताए । प्रचण्डले थपे, ‘म चुनौती दिन चाहन्छु, पछिल्लो ८ महिनामा नीति, एउटै निर्णय र एउटै निर्णय मलाई भनिदिनुहोस्, जसका पछाडि बिचौलिया छैन । जम्मा एउटै उदाहरण दिए पनि हुन्छ । तपाईंहरुका संयन्त्र, समिति, बैठक सबै एउटा नाटक जस्ता मात्रै देखिएका छन् । सत्ताको ड्राइभिङ सिटमै आज बिचौलिया छ ।’

बिचौलियाको शक्ति र आँटले आज इमान्दार व्यवसायीलाई बिचलित बनाएको भन्दै उनले त्यसले अहिलेका सत्तारुढ दललाई नै भोलि प्रभावित पार्ने बताए । सरकारको निकम्मापन र बिचौलियाको राजका कारण जनतामा निराशा जागेको र प्रतिक्रियावादीहरु हौसिएको उनले बताए ।

सरकारले दुई तिहाईको बलमा लोकतन्त्रको लक्ष्मणरेखा नाघ्ने प्रयास गरिरहेको भन्दै उनले सरकारकै कारण लोकतन्त्रमाथि खतरा पैदा भएको जिकिर गरे ।