काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारकै कारण राजावादीहरु सक्रिय रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकलाई विशेष सम्बोधन गर्दै प्रचण्डले सरकारको विश्वसनीयता सकिएकै देखेर पुरातनपन्थी, राजतन्त्रवादीहरु हौसिएको बताएका हुन् ।
उनले भने, ‘वर्षौंसम्म बन्द कोठामा राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै ओर्लिएका छन् । सडकबाटै राजतन्त्र पुनःस्थापनाको चुनौती दिन थालेका छन् ।’ साथै उनले राजावादीहरुको प्रयासका छाडि संगठित प्रयास रहेको आफूलाई थाहा भए पनि सरकारकै कारण त्यो अवस्था सिर्जना भएको बताए ।
साथै प्रचण्डले शान्ति स्थापना र लोकतन्त्र स्थापना राजतन्त्रको रगतले लेखिएको उदाहरण संसारका थुप्रै देशमा भए पनि नेपाल त्यसमा अपवाद भएको बताए । उनले लोकतन्त्रको उदारतालाई कमजोरी ठाने इतिहास निर्मम बन्नक्ने चेतावनी समेत दिए ।
‘पूर्वशाही परिवारमाथि हिंसा त परैको कुरा, निर्वासन समेत नतोकी पूर्वराजालाई तत्कालका लागि बस्ने सुरक्षित ठाउँ समेत दिएर नेपालमा गणतन्त्रको इतिहास लेखिएको हो भन्ने कसैले बिर्सिन हुँदैन । उनले भने, ‘यो इतिहास क्रान्तिको मजबुरी थियो भन्ने भ्रम कसैलाई लागेको छ भने त्यो निकै ठूलो भ्रम मात्रै हुनेछ र यो उदारतालाई कमजोरी ठानियो भने इतिहास फेरि निकै निर्मम भएर प्रस्तुत हुन सक्छ भन्ने कुरा हेक्का राख्न जरुरी छ ।’
साथै उनले लोकतन्त्रका लागि देशका हरेकजसो ढुंगामा जनताको रगत बगेको बताउँदै उनले सार्वभौम भइसकेका जनता फेरि रैती हुन्छ भन्ने ठाने त्यो भन्दा ठूलो भ्रम अरु कुनै नहुने उनले बताए ।
राजावादीहरुलाई लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न आग्रह समेत गरेका छन् । ‘राजावादीहरुलाई मेरो आग्रह छ, लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्, हामीलाई आपत्ति छैन । लोकतन्त्र जति प्रचण्डको हो, त्यति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता हामी सबै राजनीतिक दलहरुले राखेका छौँ ।’ उनले भने, ‘हाम्रो संविधानले त्यो मान्यता स्थापित गरेको छ । यो कुरालाई कमजोरी नठानियोस् ।’