काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले संसदमा खुला रुपमै राजतन्त्रको वकालत गरेका छन् । अहिलेको व्यवस्था जनतालाई नभई सिमित नेताहरुलाई चाहिएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै सांसद शाहीले पछिल्लो १६ बर्षको अवधिमा अहिलेको व्यवस्थाले जनताको अवस्था परिवर्तन नभएको भन्दै सिमित नेताहरुलाई मिलेर खानलाई अहिलको व्यवस्था चाहिएको बताएका हुन् । उनले प्रजातन्त्रसहितको राजतन्त्र आफुहरुको मुद्दा भएकाले राष्ट्रपतिको स्थानमा राजा राख्ने व्यवस्था आवश्यक रहेको तर्क गरे ।
उनले भने, ‘प्रजातन्त्र, लोकतन्त्र केही पनि मासिँदैन । राष्ट्रपतिको ठाउँमा राजा राखिन्छ । जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाइन्छ । यसमा खुल्लमखुल्ला बहस गर्न तयार छौँ ।’
सांसद शाहीले अहिलेको व्यवस्थामा राष्ट्रपति र प्रधानमन्त्री जनताले नभइ सीमित सांसदहरूले चुनेको भन्दै हिम्मत छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चयन हुने व्यवस्थामा जान चूनौती दिए । त्यस्तै उनले विभिन्न कालखण्डका हत्या प्रकरण देख्नेले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको तर्क गरे ।
सांसद शाहीले निर्मला पन्तको हत्यारा समेत पत्ता नलाउन नसक्ने तर बाँदरमुडे घटना र शिक्षक मुक्तिनाथ अधिकारीलाई हत्या गर्नेहरु सांसद बनेर हिडिरहेको जिकिर गरे ।