काठमाडौं – ३२औँ विश्व आदिवासी दिवसका अवसरमा काठमाडौंमा विभिन्न आदिवासी जनजाति समुदायको मौलिक संस्कृति झल्काउने र्‍याली निकालिएको छ। भृकुटीमण्डपबाट सुरु भएको र्‍यालीमा विभिन्न समुदायका मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो।


ADVERTISEMENT


आइतबार काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको याली भद्रकाली, सहिदगेट, सुन्धारा र वीर अस्पताल हुँदै खुलामञ्चमा पुगेर मूल समारोहमा परिणत भएको हो। यालीमा नेवार, मगर, तामाङ, शेर्पा, गुरुङ, थकाली, दुरा, माझी, याख्खा, राजवंशी, सुनुवार, ह्योल्मोलगायत विभिन्न आदिवासी जनजाति समुदायले आफ्ना मौलिक भेषभूषा, संस्कृति, लोकगीत तथा नृत्य प्रस्तुत गरेका थिए।


ADVERTISEMENT

# # #


काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट आएका हजारौँ आदिवासी जनजाति प्रतिनिधि, युवा, महिला, विद्यार्थी, कलाकार तथा सांस्कृतिक समूह यालीमा सहभागी भएका थिए।

कार्यक्रममा सरकारका उच्चपदस्थ अधिकारी, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका अधिकारी, नागरिक समाज, मानवअधिकारकर्मी, शिक्षाविद्, कलाकार तथा सञ्चारकर्मीको समेत सहभागिता रहेको थियो।

विश्व आदिवासी दिवसले आदिवासी समुदायको इतिहास, भाषा, संस्कृति, परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतसँगको सम्बन्ध र अधिकारका विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उठाउने अवसर प्रदान गर्ने आयोजकको भनाइ छ।

संविधानले सुनिश्चित गरेका अधिकारको प्रभावकारी कार्यान्वयन, राज्यका निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व, मातृभाषामा शिक्षा, भूमि तथा प्राकृतिक स्रोतमा अधिकार र सांस्कृतिक सम्पदाको संरक्षणलाई अझ प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिइएको छ।

विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष विश्व आदिवासी दिवस विभिन्न कार्यक्रमसहित मनाउने गरिन्छ।