काठमाडौँ – काभ्रेको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ ।
आइतबार मण्डनदेउपुर नगरपालिकाको सभा हलमा मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरपालिकाबीच कृषि, पर्यटन, सामाजिक र सांस्कृतिक गतिविधीहरु आदानप्रदान लगायतका विषयमा भगिनीसम्बन्धका लागि सहमति भएको हो । भगिनीसम्बन्धलाई अन्तिम रुप दिई कार्य प्रारम्भ गर्न आइतबार फुजिनोमिया नगरपालिकाका नगरप्रमुख हितोतादा सुदोसहितको टोलीले मण्डनदेउपुर नगरपालिकाको औपचारिक भ्रमण गरि यसको औपचारिक घोषणा गरिएको मण्डनदेउपुरका नगरप्रमुख टोकबहादुर वाइवाले जानकारी दिए ।
कार्यक्रममा दुई नगरका सहमतिपत्र दुवै नगरका प्रमुखहरुले हस्ताक्षर गरि एकआपसमा आदानप्रदान गरेका थिए । सो क्रममा मण्डनदेउपुरका नगरप्रमुख वाइवाले जापान जस्तो विकसित देशको नगरसँग भगिनी सम्बन्ध स्थापित हुनु निकै गौरवको विषय भएको बताए । उनले जापानले यसअघि पनि नेपालको विकासमा धेरै सहयोग गरिरहेको चर्चा गर्दै मण्डनदेउपुरको विकासमा यो सम्बन्ध कोशेढुंगा साबित हुने बताए ।
कार्यक्रममा फुजिनोमिया नगरपालिकाका प्रमुख सुदोले यो सम्बन्ध शुरुवात हुनु आफैंमा एउटा ऐतिहासिक क्षण भएको चर्चा गर्दै यसले आगामी दिनमा दुई नगरपालिकाबीचका विविध आयामहरुलाई थप उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।