काठमाडौँ– नयाँ दिल्लीमा सम्पन्न स्टार्टअप महाकुम्भ २०२५ मा नेपाली स्टार्टअपहरूले नवप्रवर्तन र उद्यमशीलताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली उपस्थिति जनाएका छन्।
उक्त कार्यक्रममा सहभागी नेपाली स्टार्टअपहरूले आफ्ना सिर्जनात्मक विचार, उत्पादन र सेवाहरू प्रस्तुत गर्दै उपस्थित लगानीकर्ता, व्यवसायी तथा प्रविधि विज्ञहरूको ध्यान खिच्न सफल भएका हुन्।
विभिन्न क्षेत्रका नेपाली उद्यमहरूले प्रविधि, कृषि, स्वास्थ्य, शिक्षा, डिजिटल सेवा लगायतका इनोभेटिभ समाधानहरू प्रस्तुत गरेका थिए, जसले नेपालको उद्यमशील क्षमता र सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेको छ।
नेपालका स्टार्टअपहरूले यस महाकुम्भलाई आफ्नो नवाचार प्रस्तुत गर्ने, अन्तर्राष्ट्रिय नेटवर्क विस्तार गर्ने र सम्भावित साझेदार तथा लगानीकर्ताहरूसँग सहकार्यको अवसरका रूपमा लिएका छन्।
स्टार्टअप महाकुम्भ २०२५ लाई एशियाकै ठूलो स्टार्टअप सम्मेलन मानिन्छ, जहाँ विश्वभरका अग्रणी स्टार्टअप, लगानीकर्ता र उद्योगविद्हरूको जमघट हुन्छ। यस्तो मञ्चमा नेपाली स्टार्टअपहरूको सहभागिता र प्रस्तुति देशको उद्यमशील यात्रामा एउटा उल्लेखनीय कदमको रूपमा हेरिएको छ।