काठमाडौँ–चैत्र १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न काठमाडौं अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले प्रसाईंलार्ई राज्यविरुद्धको कसुरमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
त्यस्तै प्रसाईंसंगै पक्राउ परेका दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । प्रसाईं क्यान्सरको बिरामी भएका कारण इजलासबाट सम्बन्धित चिकित्सकको सिफारिसमा उपचारको प्रबन्ध गर्न आदेश भएको श्रेष्ठले बताए ।
प्रसाईं र खड्कालाई नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले शुक्रबारै झापाको भद्रपुरबाट पक्राउ गरेको हो । पक्राउ गरे लगतै दुवैलाई शुक्रबार नै प्रहरीले काठमाडौ ल्याइ सरकारी वलिक कार्यालय हुदै म्याद थपका लागि काठमाडौं अदालतमा उपस्थीत गराएको थियो ।
तीनकुनेमा राजावादील गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु हुनका साथै ठूलो जनधनको क्षति भएको थियो । उक्त घटनापछि प्रसाईँ फरार थिए ।