काठमाडौंँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, बागमती प्रदेश सभामुख भुवन पाठकसहितको टोली आज चैत १५ गते तिनकुने घटनामा ज्यान गुमाएका एभिन्युज टेलिभिजनका पत्रकार स्व. सुरेश रजकको निवास ताहाचल पुगेको छ।


ADVERTISEMENT


दिवंगत पत्रकारप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष लिङ्देनले रजकप्रति पार्टीको तर्फबाट गहिरो सम्मान प्रकट गरे। साथै, उनले पार्टीले पत्रकार सुरेश रजकको निधनको घटनालाई गम्भीर रूपमा लिएको बताउँदै, यस विषयमा पार्टीको औपचारिक बैठकबाट निर्णय गरिसकिएको जानकारी दिए।


ADVERTISEMENT

# # #


“हामीले संसदमा र सडकमा निरन्तर रूपमा आवाज उठाइरहेका छौं र उठाइरहनेछौं,” लिङ्देनले मृतक परिवारसँगको भेटमा भने।

स्व। सुरेश रजकको परिवारले उहाँलाई शहीद घोषणा गर्नुपर्ने माग गर्दै घटनाको सत्यतथ्य छानबिनका लागि स्वतन्त्र न्यायिक आयोग गठन गर्न सरकारसँग आग्रह गरेका छन्। परिवारका अनुसार यो घटनाले केवल व्यक्तिगत पीडा मात्र होइन, सम्पूर्ण प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथिको हमला भएको महसुस भएको छ।

पत्रकार रजकको निधनलाई राज्यद्वारा भड्काइएको हिंसात्मक घटनासँग जोडेर हेर्ने गरिएको छ, जसमा दोषीको पहिचान र न्यायको प्रत्याभूति अझै हुन सकेको छैन।

अध्यक्ष लिङ्देनले घटनाको छानबिन निष्पक्ष र प्रभावकारी हुनुपर्ने उल्लेख गर्दै भने, “शोकलाई शक्तिमा बदल्न हामी सबैले संकल्प गर्नुपर्छ। स्व. सुरेशको न्यायका लागि हामी लागिरहनेछौं।”

रजकको निधनले प्रेस जगतमा गहिरो शोक र आक्रोश उत्पन्न गराएको छ। पत्रकार महासंघलगायत विभिन्न संघसंस्थाले पनि घटनाको निष्पक्ष छानबिनको माग गर्दै आएका छन्।