काठमाडौँ – काठमाडौँमा आजदेखि सुरु भएको आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेट एशिया क्षेत्र छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार काठमाडौँको मुलपानी क्रिकेट मैदानमा वर्षा–ले प्रभावित भएपछि ४० ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाउँदै २०० रन बनायो ।
युएईले २०१ रनको चुनौतीपूर्ण लक्ष्य पच्छ्याइरहँदा खराब प्रकाशका कारणले खेल खेलाउन असमर्थ भएपछि खेलको नतिजा डीएलएस मेथडका आधारमा टुंग्याइएको हो । जस अनुुसार नेपालले ५ रनले जितेको हो ।
यसएईले ३६ ओभरको समाप्तीमा ७ विकेट गुमाउँदै १७१ रन बनाए पनि जितका लागि प्राप्त हुन सकेन । उसका लागि यायिन किरण राईले प्रतियोगिताको पहिलो शतक प्रहार गरे । नटआउट रहेका उनले ९६ बलमा ८ चौका र ५ छक्का प्रहार गरे ।
यस्तै मोहम्मद रायन खानले ३५ तथा किरण धिमानले १५ रन बनाए । बलिङतर्फ नेपालका सन्तोष यादव र अशोक धामीले समान २–२ विकेट लिए भने अधिषेक त्रिपाठी र कप्तान नरेन भट्टका नाममा समान १–१ विकेट रह्यो ।
यसअघि नेपालका लागि कप्तान नरेन भट्टले ७५ बलमा ७ चौकाको मदतमा ६७ रनको अर्धशतकीय पारी खेले । यस्तै दिलसाद अलीले ३४ र साहिल अन्सारीले ३२ रन बनाए । निरज कुमार यादवले १८ तथा सन्तोष यादवले ११ र अशोक धामीले १० रन बनाए ।
बलिङतर्फ उद्दिस सुरीले ३ तथा शालम डी’सुजा र युग शर्माले समान २-२ विकेट लिए । आजै माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा अफगानिस्तानले ओमानलाई ८ विकेटले हराएको छ ।
प्रतियोगितामा नेपालसहित युएई, अफगानिस्तान, ओमान र हङकङ रहेका छन् । सबै टोलीले एकअर्काविरुद्ध १–१ खेल खेल्नेछन् । अंकतालिकाको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष जिम्बाब्बेमा हुने आईसीसी यू–१९ क्रिकेट विश्वकपका लागि छनोट हुनेछ ।