काठमाडौं — आज बिहानैदेखि माइतीघर–नयाँ बानेश्वर सडक खण्डमा जारी शिक्षक आन्दोलनका कारण राजधानीको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ। बिहान ९ बजेदेखि शिक्षकहरू आन्दोलनमा उत्रिएपछि उक्त क्षेत्रको सवारी आवागमन अवरुद्ध भएको हो।


ADVERTISEMENT


पूर्वसूचनाको अभावमा कार्यालय समयमा नै सडकमा प्रदर्शन सुरु हुँदा दैनिक यातायातमा बाधा पुगेको छ। विद्यालय, कलेजका विद्यार्थीहरू र कार्यालय गइरहेका सर्वसाधारणले विशेष कठिनाइ खेप्नुपरेको छ।


ADVERTISEMENT

# # #


उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार नयाँ बानेश्वरबाट थापागाउँ हुँदै हनुमानस्थान जाने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

शिक्षक नेताहरूका अनुसार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनको सूचना पाएपछि आन्दोलन बिहानै सार्नुपरेको हो।

ट्राफिक प्रहरी महाशाखाले सम्भव भएसम्म सार्वजनिक सवारीसाधनको प्रयोग गर्न र वैकल्पिक मार्ग अवलम्बन गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

शिक्षकहरु पछिल्लो २० दिनदेखि निरन्तर आन्दोलनमा छन् । सरकारले शिक्षकहरुको माग पुरा गर्ने बताएपनि उनीहरुले आन्दोलन रोकेको छैन ।

उनीहरुले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन् । महासंघले आन्दोलन तुहाउन बिभिन्न प्रयास भएपनि आफुहरु पछि नहट्ने जनाएको छ ।

शिक्षकहरुले राज्यले आफुहरुको माग समयमा नै सुनुवाई नगर्दा शैक्षिक गतिविधि प्रभावित हुन पुगेको जनाएका छन् ।