हेटौंडा — मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा यही वैशाख १९ गतेदेखि सुरु हुने राष्ट्रिय महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई प्रदान गरिने स्कुटर पुरस्कारको प्रायोजन नेपाली कांग्रेसका बाग्मति प्रदेश सभापति इन्द्र बहादुर बानियाँले गर्ने भएका छन्।
बानियाँले प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई सम्मानस्वरूप स्कुटर प्रदान गर्न सहमति जनाएका हुन्। सो सम्बन्धमा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामा र सांसद बानियाँबीच सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ।
खेलप्रेमी अभियन्ताका रूपमा चिनिएका बानियाँले जिल्लास्तरीय खेलकुद गतिविधिहरूमा निरन्तर सहयोग गर्दै आइरहेका छन्। अध्यक्ष लामाका अनुसार, बानियाँको सक्रिय सहकार्यले प्रतियोगिता आयोजनामा थप ऊर्जा र हौसला मिलेको छ।
गौरीटार रंगशालामा आयोजना हुने प्रतियोगितामा तीन विभागीय टोलीसहित ८ टोलीको सहभागिता रहनेछ। विजेता टोलीले उपाधिसहित ५ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।