काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गर्दै सम्भव मागहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले शिक्षकहरूको मागप्रति सरकार नकारात्मक नरहेको स्पष्ट पार्दै वार्तामार्फत समस्या समाधान गर्न आह्वान गरे। उनले भने, “तुरुन्तै वार्तामा आएर विषय टुंग्याउनुस्, सहमति गर्नुस् र विद्यालय फर्किनुस्। मेरो आग्रह छ, सरकारले सम्भव मागहरू सबै पूरा गर्छ।”
प्रधानमन्त्री ओलीका अनुसार, सरकारले शिक्षकहरूको आवाजलाई बुझ्ने प्रयास गरिरहेको छ र समाधान खोज्न सकारात्मक धारणा राखेको छ। “सरकार उहाँहरूको मागप्रति नेगेटिभ हुने कुरै छैन,” उनले भने।
सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका मागसहित चैत २० गतेदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेका छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा सुरु भएको आन्दोलनले चैत २५ देखि आम शैक्षिक हड्तालको रूप लिएको छ।
यस आन्दोलनका कारण नयाँ शैक्षिक सत्रको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका महत्वपूर्ण शैक्षिक कार्यहरू प्रभावित भएका छन्। प्रधानमन्त्री ओलीले शिक्षा प्रणालीलाई प्रभावित हुन नदिन सबै पक्ष गम्भीर हुनुपर्नेमा पनि जोड दिए।