काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले देशमा एलपी ग्यासको वास्तविक अभाव नभएको स्पष्ट पार्दै माग एकैपटक बढेकाले बजारमा केही असहज अवस्था सिर्जना भएको बताएकी छन्।


ADVERTISEMENT


शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौरीले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सरकारले आवश्यक पहल गरिरहेको जानकारी दिइन्।


ADVERTISEMENT

# # #


उनका अनुसार ग्यास वितरणलाई पारदर्शी र व्यवस्थित बनाउन सिलिन्डर ट्र्याकिङ प्रणाली निर्माणको काम सुरु भइसकेको छ। साथै, तत्कालका लागि उद्योगबाट भरिएका ग्यास सिलिन्डर बिक्री गर्ने डिपो तथा वितरकहरूको विवरण मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गर्न थालिएको छ, जसले उपभोक्तालाई ग्यास उपलब्ध हुने स्थानबारे सहज जानकारी दिने विश्वास गरिएको छ।

मन्त्री गौरीले भारत सरकारसँग एलपी ग्यास आयातको तीन महिनाको कोटा ४८ हजार ५०० मेट्रिक टनबाट बढाएर ६० हजार मेट्रिक टन पुर्‍याउन परराष्ट्र मन्त्रालयमार्फत औपचारिक अनुरोध गरिएको पनि जानकारी दिइन्। यसबाट आगामी दिनमा ग्यास आपूर्ति अझ सहज हुने अपेक्षा सरकारले गरेको छ।

उनले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अनियमित वितरण गर्ने गतिविधिमाथि सरकारले निरन्तर अनुगमन गरिरहेको बताउँदै दोषीमाथि आवश्यक कारबाही गरिने चेतावनी दिइन्।

मन्त्री गौरीका अनुसार घरेलु प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर अभिलेखका आधारमा व्यवस्थित रूपमा ग्यास बिक्री–वितरण भइरहेको छ। साथै, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घरोगीलाई ग्यास वितरणमा विशेष प्राथमिकता दिइएको उनले जानकारी गराइन्।

सरकारले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चिति नगर्न, आवश्यक परिमाणमा मात्रै खरिद गर्न र अफवाहमा विश्वास नगर्न समेत आग्रह गरेको छ।