काठमाडौं- नेपाल शिक्षक महासंघले आफ्ना मागहरू सम्बोधन नभए आगामी भदौ महिनादेखि पुनः देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघले विद्यालय शिक्षा सुधारसँग सम्बन्धित यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य भएको जनाएको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न, शिक्षा क्षेत्रमा सरकारी लगानी बढाउन, विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्न तथा शिक्षक–कर्मचारीसँग सम्बन्धित विभिन्न माग पूरा गर्न सरकारलाई पुनः ध्यानाकर्षण गराइने बताएका छन्।
उनका अनुसार भदौ लाग्नेबित्तिकै महासंघको विस्तारित कार्यसमितिको बैठक बसेर आन्दोलनका कार्यक्रम अन्तिम रूप दिइनेछ। त्यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमक्ष मागहरूको सूचीसहित ध्यानाकर्षण पत्र बुझाइने कार्यक्रम तय गरिएको छ।
सुवेदीले शिक्षक तथा विद्यालय कर्मचारीका समस्या र पीडा झन् बढ्दै गएको भन्दै आन्दोलन स्थानीय तह, जिल्ला र प्रदेश हुँदै अन्ततः काठमाडौं केन्द्रित हुने बताए। उनले यसअघिको आन्दोलनभन्दा अझ व्यापक, सशक्त र प्रभावकारी आन्दोलन सञ्चालन गरिने चेतावनी दिएका छन्।
महासंघले आर्थिक वर्ष २०८३/८४ को बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी तथा सिकाइ अनुदानमा कार्यरत शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ताबाट वञ्चित गरिएको भन्दै असन्तुष्टि जनाएको छ।
त्यस्तै, शिक्षा क्षेत्रमा कुल राष्ट्रिय बजेटको २० प्रतिशत लगानी सुनिश्चित गर्न सरकारसँग माग गरिएको महासंघले जनाएको छ। महासंघले गुणस्तरीय सार्वजनिक शिक्षा, शिक्षक–कर्मचारीको सेवा–सुविधा र विद्यालय शिक्षा प्रणालीको सुधारका लागि आफ्ना मागहरू यथाशीघ्र सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ।


























































