काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बिचौलियाको चलखेलका कारण सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसकेको बताएका छन् ।
मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै पुनले गभर्नरको विषयलाई राजनीतिकरण गरिएको समेत बताए । समयमा नै गभर्नर नियुक्त गर्न नसक्नुले राजनीतिक दलहरुले देश सञ्चालन गर्छ वा अरुकसैले भन्ने कुरा प्रष्ट हुदै गएको उनले बताए ।
पुनले राष्ट्र बैंकको डेपुटी गभर्नर वा मौद्रिक नीतिमा बिज्ञता हासिल गरेका व्यक्तिहरुलाई गभर्नर बनाउने गरिदै आएकोमा अहिले स्वार्थ समूहले रुचाएका व्यक्तिलाई गभर्नर बनाउने प्रयास भइरहेको आरोप लगाए । स्वार्थ समूहसंग कुरा नमिल्दासम्म गभर्नर नियुक्त हुने नदेखिएको उनले बताए ।
उनले पार्टीको कार्यकर्ता वा स्वार्थ समूहको व्यक्तिलाई गभर्नर बनाए देशको अर्थतन्त्र चल्न नसक्ने जिकिर गरे । विज्ञता हासिल भएका व्यक्तिलाई गभर्नर बनाउन उनले सरकारलाई सचेत गराए ।