काठमाडौं – बाबाको राजनीतिक यात्राबाट प्रभावित हुँदै सानै उमेरमा राजनीतिमा प्रवेश गरेकी कविता गौतम अहिले २२ वर्षको उमेरमै नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा दोस्रोपटक निर्विरोध निर्वाचित भएकी छन्। सुनापति गाउँपालिका–१ को वडा अधिवेशनबाट उनी खुला महिलातर्फ क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकी हुन्।


ADVERTISEMENT


 

 

१८ वर्षकै उमेरमा पहिलोपटक क्षेत्रीय प्रतिनिधि बनेकी गौतमले त्यसयता विद्यार्थी राजनीति, पार्टी संगठन तथा सामाजिक गतिविधिमा आफ्नो सक्रियता निरन्तर बढाउँदै आएकी छन्। पद्मकन्या मल्टिपल क्याम्पसको सहसचिवसमेत रहिसकेकी उनी राजनीति र सामाजिक कामसँगै सामाजिक सञ्जाल तथा कन्टेन्ट क्रिएसनमा पनि सक्रिय छिन्।


ADVERTISEMENT

# # #


 

गौतमका लागि राजनीति केवल पद प्राप्त गर्ने माध्यम भने होइन। सामाजिक परिवर्तनमा योगदान गर्ने र युवा पुस्तालाई राजनीतिमा सक्रिय बनाउने उद्देश्यसहित आफू राजनीतिमा अघि बढिरहेको उनको भनाइ छ। अध्ययन तथा आफ्नो कामलाई पनि सँगसँगै अघि बढाउँदै आएकी गौतम सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएकी छन्।

दोस्रोपटक क्षेत्रीय प्रतिनिधि निर्वाचित भएपछि उनको राजनीतिक लक्ष्य अझ फराकिलो बनेको छ। अवसर र स्थान पाए आगामी दिनमा महाधिवेशन प्रतिनिधि बन्ने सोच उनले बनाएकी छन्। पार्टी संगठनमा निरन्तर सक्रिय हुँदै जिम्मेवारी बढाउँदै लैजाने उनको योजना छ।

गौतमको राजनीतिक यात्राको अर्को महत्वपूर्ण पक्ष भनेको आफ्नो मात्रै होइन, बाबाले देखेको राजनीतिक सपना पनि पूरा गर्ने उनको चाहना हो। बाबाको राजनीतिक यात्राबाट प्रभावित भएर आफू राजनीतिमा आएको बताउने गौतम अब आफ्नो सक्रियतालाई बाबाको अधुरो सपना पूरा गर्ने यात्रासँग पनि जोड्न चाहन्छिन्।

सानै उमेरमा राजनीतिमा प्रवेश गरेर २२ वर्षमै दोस्रोपटक क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी पाएकी गौतम अब आफूलाई अझ जिम्मेवार राजनीतिक भूमिकाका लागि तयार पार्ने सोचमा छन्। आफ्नो राजनीतिक पहिचान निर्माणसँगै बाबाले देखेको सपना पूरा गर्ने लक्ष्यलाई समेत अघि बढाउँदै लैजाने उनको संकल्प छ।