हरि लामिछाने, काठमाडौँ– राजधानीको ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले आजदेखि सुरु गरेको ‘हर्न निषेध’ अभियान प्रभावकारी देखिएको छ ।


ADVERTISEMENT


राजधानीका सडकमा चल्ने सानाठूला सबै प्रकारका सबै सवारीसाधनले आक्कलझुक्कल हर्न बजाए पनि अधिकांशले हर्न बजाउन नहुने हेक्का राखेर वाहन चलाएको पाइयो । बौद्धदेखि सिंहदरबारसम्मको यात्रामा नुवाकोट महाकाली–५ का लक्ष्मण थापाले पानी बोकेको एउटा ट्याङ्करले बारम्बार हर्न बजाएपछि चावहिलमा ‘ड्युटी’ बसेका ट्रफिक प्रहरीलाई गुनासो गरेको बताए ।


ADVERTISEMENT

# # #


ती ट्राफिक प्रहरीले ट्याङकर चालकलाई ‘हर्न बजाउन नहुने ज्ञान नभएको र उसले एक÷दुई दिनमा सिक्ने’ जवाफ आफूलाई फर्काएको र कारबाही गरिरहनु नपर्ने बताएको थापा सुनाउँछन् । चावहिल–मित्रपार्क–सिफल–कालोपुल–ज्ञानेश्वर–कालिकास्थान हुँदै सिंहदरबारसम्म दुई पाङ्ग्रे सवारीसाधनमा यात्रा गरेका थापाले कहीँ पनि हर्न बजाउनु परेन ।

यसैगरी बालाजु माछापोखरी–सोह्रखुट्टे–ठमेल–लैनचौर–जमल हुँदै भद्रकाली आइपुगेका धादिङ नीलकण्ठ नगरपालिकाका सन्तोषी शर्माले पनि अन्य दिनजस्तो आज हर्न नबजेको अनुभव सुनाइन् । महानगरले चोक र आकाशेपुलमा अनावश्यक ध्वनिले मानव स्वास्थ्यमा हानि पुर्याउने चेतनामूलक जानकारी राखेकाले पनि केही सुधार आएको हुन सक्ने शर्माको बुझाइ छ ।

नयाँ बानेश्वर–बबरमहल–माइतीघर हुँदै स्कुटीमा भद्रकाली आएकी कृतिका खड्काले आफूले हर्न नबजाएको सुनाइन् । “आज सार्वजनिक विदा परेकाले होला अन्य दिनको तुलनामा सवारीसाधनको आवाज कम सुनियो”, कृतिका बताइन् । त्यस्तै बल्खु–कुलेश्वर–टेकु–त्रिपुरेश्वर हुँदै सुन्धारासम्म मोटरसाइकलमा आएका कृष्णराज पाण्डेले एक पटकमा मात्र अत्यावश्यक भएर हर्न बजाउन परेको बताए । उनले भने, “मलाई ‘नो हर्न’का विषयमा थाहा छ तर अप्ठ्यारो परेर बजाए ।”

कुनै÷कुनै सवारीसाधनले अन्जानमा हर्न बजाए पनि ट्राफिक प्रहरीले सामान्य सोधपुछ गरेर मात्र छोडेका थिए । काठमाडौँको कोलाहलपूर्ण वातावरणमा सुधार आउने विश्वास सर्वसाधारणको प्रतिक्रिया दिएको ट्राफिक प्रहरीको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्रबहादुर मल्लले ‘हर्न निषेध’भन्दा पनि ध्वनि प्रदूषण कम गर्ने अभियानमा सकारात्मक प्रभाव परेको बताए । उनले अनावश्यक ध्वनि कम गर्ने यस उपायलाई प्रभावकारीरुपमा अगाडि लैजाने तयारी रहेको जानकारी दिए ।

काठमाडौँ उपत्यकामा दैनिक सातदेखि आठ लाख सवारीसाधन गुड्छन् । यी सवारीसाधनले अनावश्यकरुपमा उत्पन्न गर्ने ध्वनिका कारण मानव स्वास्थ्यमा गम्भीर पार्ने गरेको बुझिएको छ । काठमाडौँ महानगरपालिकाले ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले यस अभियानलाई आजदेखि लागू गरेको हो । अनावश्यक स्थानमा हर्न बजाएमा रु पाँच हजारसम्म जरिवाना गर्न सकिने अधिकार ट्राफिक प्रहरीसँग रहेको महानगरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

उनले महानगर र ट्राफिक प्रहरीले सहकार्य गरेर हर्न निषेध गर्ने अभियानलाई सर्वसाधारण एवम् सवारीसाधन प्रयोगकर्तासम्म पुर्याउन नयाँ चेतनामूलक कार्यक्रम ल्याउने जानकारी दिए । महानगरलाई अन्य प्रदूषणबाट पनि मुक्त गर्ने अभियान ल्याउने कार्कीको भनाइ छ । यो अभियान काठमाडौँमा मात्र होइन, विश्वका ठूला सहरमा पनि लागू गरिएको छ । भारतका विभिन्न सहरमा हर्न बजाउन निशेष गरिएको छ भने अन्य मुलुकमा पनि हर्न बजाउन नपाइने व्यवस्था छ ।

यातायात व्यवस्था विभाग, काठमाडौँ महानगरपालिका र ट्राफिक प्रहरीको समन्वयमा ल्याएको यस सकारात्मक अभियानमा आम सवारी प्रयोगकर्ताले मनन गर्नैपर्ने देखिएको छ । नयाँ वर्षसँगै सुरु गरिएको यस अभियान सफल हुने देखिएको छ ।