काठमाडौँ– विश्व वातावरण दिवस २०२५ को अवसरमा भारतीय दूतावास, काठमाडौँले ‘प्लास्टिक प्रदूषण हटाऔं’ भन्ने विश्वव्यापी नाराका साथ वातावरण संरक्षण सम्बन्धी विशेष कार्यक्रमको आयोजना गर्यो।
कार्यक्रममा नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरी प्रमुख अतिथि रहेका थिए । उनले नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँगै दूतावास परिसरमा वृक्षारोपण गरे। काठमाडौँस्थित केन्द्रीय विद्यालयका विद्यार्थीहरूले समेत वृक्षारोपण कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाए।
यस अवसरमा दूतावास परिसरमा विभिन्न जातका बिरुवाहरू रोपिए, जसले हरियाली प्रवर्द्धन मात्र नभई वातावरणीय सन्देश पनि प्रवाह गरेको छ। कार्यक्रममा बोल्दै वक्ताहरूले जलवायु परिवर्तन, प्लास्टिकजन्य प्रदूषण र वातावरणीय सन्तुलन जस्ता विषयमा प्रकाश पारे। उनीहरूले वातावरण संरक्षणका लागि सबै क्षेत्र र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे।
राजदूत श्री श्रीवास्तवले भारत र नेपालबीचको दिगो विकास तथा वातावरणीय सहकार्यलाई सुदृढ बनाउन यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले विद्यार्थीहरूलाई वातावरणको महत्त्व बुझाउँदै भविष्यमा हरित जगत् निर्माणका लागि जिम्मेवार नागरिक बन्न प्रेरणा दिए।