काठमाडौँ — वैदेशिक रोजगारीका लागि युके र क्यानडा पठाइदिन्छु भन्दै करोडौं रकम ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले विशेष अपरेशनमार्फत उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिहरुमा भक्तपुर नगरपालिका–२ का ४४ वर्षीय रबिन्द्र बासुकला, काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर बस्ने मोरङ रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली, र काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने धनुषा सबैला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरूण राज शर्मा रहेका छन्।
अनुसन्धानका अनुसार, रबिन्द्र बासुकलाले एक पीडितबाट क्यानडा पठाइदिन्छु भन्दै ५ लाख ६० हजार रुपैयाँ लिएको पाइएको छ। त्यस्तै, लक्ष्मण पराजुली र अरूण राज शर्माले युके पठाइदिन्छु भन्दै ३८ जना पीडितबाट कूल ११ करोड ६ लाख ९७ हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएका थिए।
प्रहरीले रबिन्द्रलाई सोमबार भक्तपुरको ब्यासीबाट र लक्ष्मण र अरूणलाई आइतबार काठमाडौंको नरेफाँटबाट पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ।