काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले पार्टीको विशेष महाधिवेशन वैधानिक र विधानसम्मत रहेको दाबी गर्दै अदालतबाट पनि त्यसैअनुसारको निर्णय आउने विश्वास व्यक्त गरेका छन्।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै सभापति थापाले विशेष महाधिवेशनसम्बन्धी सर्वोच्च अदालतको पछिल्लो आदेशबारे साउन २४ गते बस्ने केन्द्रीय समितिको बैठकमा छलफल गरी पार्टीको आधिकारिक धारणा तय गरिने जानकारी दिएका छन्।
उनले विशेष महाधिवेशन वैधानिक रहेको पुष्टि गर्ने अर्को अवसर प्राप्त भएको उल्लेख गर्दै संविधान र पार्टी विधानभन्दा माथि कोही पनि नहुने स्पष्ट पारे। आगामी महाधिवेशन तोकिएकै समय अर्थात् मंसिरभित्र सम्पन्न गर्नु पार्टीको वैधानिक दायित्व र प्रतिबद्धता रहेको उनको भनाइ छ।
सभापति थापाले कार्यकर्ता र शुभेच्छुकले पार्टीप्रति राखेको विश्वास कायम राख्दै कांग्रेसलाई अझ सुदृढ, एकताबद्ध र समावेशी बनाउने प्रयास निरन्तर जारी रहने बताए। सबै पक्षलाई समेटेर अघि बढ्न आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।
त्यस्तै, वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले प्रतिपक्षको भूमिकाबाट सरकारमाथि प्रभावकारी खबरदारी गर्ने तथा संविधानप्रतिको संवेदनशीलता कायम राख्ने दायित्व निर्वाह गर्ने उनले बताएका छन्।
संविधान संशोधनका विषयमा बोल्दै थापाले पर्याप्त संवेदनशीलता नअपनाए देश जटिल परिस्थितितर्फ जान सक्ने चेतावनी दिएका छन्। सरकारले संविधान संशोधनको प्रक्रियामा आवश्यक सावधानी नअपनाए मुलुक ठूलो द्वन्द्वतर्फ धकेलिन सक्ने भन्दै कांग्रेसले यस विषयमा निरन्तर खबरदारी गरिरहने स्पष्ट पारेका छन्।


























































