काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गर्ने राष्ट्रिय भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी दिएका छन्।
उनका अनुसार वर्तमान राजनीतिक परिस्थितिमा पार्टीभित्र एकता, सहकार्य र साझा कार्यदिशा तय गर्ने उद्देश्यले भेला आयोजना गरिएको हो। देउवा साउन २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको पनि उनले बताएका छन्।
कोइरालाले देउवा स्वदेश फर्कने क्रममा राज्यका तर्फबाट कुनै अवरोध वा धरपकड भए त्यसको विरोध गरिने चेतावनी पनि दिएका छन्।
उनले राष्ट्रिय भेलामार्फत राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूल सिद्धान्तमा आधारित नयाँ कार्यदिशासहित पार्टीलाई नयाँ ऊर्जा र जीवन दिने प्रयास गरिने बताएका छन्।
त्यस्तै, कांग्रेस केन्द्रीय समितिको आधिकारिकतासम्बन्धी मुद्दामा पुनरावलोकनको अनुमति प्राप्त भइसकेकाले अब सर्वोच्च अदालतबाट न्याय प्राप्त हुनेमा आफूहरू विश्वस्त रहेको धारणा पनि कोइरालाले व्यक्त गरेका छन्।


























































