काठमाडौँ – रास्वपाका सांसदहरुले भिजिट भिसा प्रकरणमा निलो रिबन लगाएर विरोध जनाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरुले निलो रिबन लगाएर विरोध जनाएका हुन् ।


ADVERTISEMENT


मानव तस्करी विरूद्धको अभियानलाई विश्वव्यापी रूपमा “निलो रिबन” को प्रतीकले जनाउने भएकाले आफूहरुले निलो रिबन लगाएर विरोध गरेको रास्वपा सांसद डा तोसिमा कार्कीले बताइन् ।


ADVERTISEMENT

# # #


उनले भिजिट भिसा प्रकरणमा पीडित भएकाहरुको न्यायका लागि एकवद्धता जनाउनका लागि निलो रिबन लगाएको उल्लेख गरिन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टी मानव तस्करीविरुद्धको आन्दोलनमा अडिग छ । आज हामीले निलो रिबन लगाएका छौँ । यो अन्तर्राष्ट्रिय स्तरमा नै मानजव बेचविखन र मानव तस्करी विरुद्धको आवाज हो ।’ उनले भनिन्, ‘यो सचेतनाका लागि लगाइन्छ र हामीले यसको सांकेतिक हिसाबले विरोध प्रदर्शन गरेका हौँ । मानव तस्करीबाट पीडितहरुको आवाजमा हामी ऐक्यवद्ध छौँ ।’

सांकृतिक विरोध गरेपनि संसद बैठकमा सभ्य तरिकाले उपस्थित भएर संसद बैठकलाई मर्यादित ढंगले सञ्चालन गर्न आवाज उठाएको बताइन् । साथै उनले आफूहरुले निलो रिबन लगाएकोप्रति कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गरेको टिप्पणीप्रति आपत्ति जनाइन् ।

‘जो संसदका कुर्सी भाच्नलाई, माइक भाँच्नलाई पारखी हुनुहुन्छ, उहाँहरुले हामीलाई भनिदिनुपर्यो, यो निलो रिबन लाएर आउँदा हामी कसरी असभ्य भयौँ ?’ उनले भनिन्, ‘हामीलाई माइक भाँच्न आउँदैन, हार्मीलाई कुर्सी भाँच्न आउँदैन । हामीले गर्ने भनेको शान्त विद्रोह हो, निलो क्रान्ति हो ।’

कार्कीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन नभएसम्म आफूहरुको आन्दोलन नरोकिने स्पष्ट पारिन् ।