हेटौंडा — नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बहादुर बानियाँले हेटौंडा–१ स्थानिय सडकखण्ड २०८४ साल अघि पिच गरेरै छाड्ने दृढ अठोट व्यक्त गरेका छन्।
उनले काम नगरी नछाड्ने संकल्प गर्दै यदि यो ठाउँमा काम गर्न नसके आफू भविष्यमा कुनै पनि चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।
स्थानीयस्तरको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बानियाँले भने, “गरेरै छाड्छु। यो ठाउँमा गर्न सकिन भने अर्को चोटी चुनावै लड्न आउँदिन। कुनै पनि ठाउँमा लड्दिन।”
बानियाँले आफूले बोलेको कुरा कार्यान्वयनमै जोड दिने नेताका रूपमा चिनिँदै आएको बताउँदै थपे, “म जे गर्छु, त्यो बोल्छु। जे बोल्छु, त्यो गर्छु। नगर्ने कुरा बोल्दिन।”
उनले चकरी–मकरी क्षेत्रमा आवश्यक रहेको पुल निर्माणसमेत आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने जानकारी दिए।
“चकरी मकरीको पुल आउँदो वर्षको बजेटमा हाल्ने हो। ८४ भन्दा अगाडि त्यहाँबाट पनि गाडी गुडाउने नै हो। त्यसकारण ढुक्क भए हुन्छ, त्यो पुल बन्छ, बन्छ। त्यसमा द्विविधा नलिनुहोस्,” सभापति बानियाँको भनाइ थियो।
यसअघि पनि बानियाँले हेटौंडा क्षेत्रका विभिन्न विकास आयोजना अघि बढाउँदै जनस्तरमा सक्रिय भूमिका खेल्दै आएका छन्।



























































