काठमाडौं – काठमाडौंका विभिन्न सञ्चारगृह मिडिया हाउस को मूल गेट अगाडि शंकास्पद रूपमा सवारी साधन पार्किङ गरी आवतजावतमा अवरोध सिर्जना गरिएको घटनाबारे सरकारी संयन्त्रलाई अघिल्लो दिन नै सूचना पुगेको खुलासा भएको छ। घटनापछि राज्यको संलग्नता वा लापरबाहीबारे विभिन्न कोणबाट प्रश्न उठ्न थालेका छन्।
प्रारम्भिक जानकारीअनुसार विभिन्न मिडिया हाउसको प्रवेशद्वार छेक्ने गरी पार्किङ गरिएका सवारी साधनमध्ये एक चालक राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता रवि जयसवाल रहेको खुलेको छ। यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
घटनापछि प्रहरी घटनास्थलमा पुगे पनि विस्तृत अनुसन्धान नगरी सम्बन्धित सवारी साधनलाई ट्राफिक नियम उल्लंघनबापत जरिबाना तिराएर छाडिएको बताइएको छ। यसले घटनाको गम्भीरता अनुसार अनुसन्धान नभएको भन्दै प्रशासनको भूमिकामाथि प्रश्न उठेको छ।
सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले यस घटनालाई प्रेस स्वतन्त्रता र सञ्चार संस्थाको निर्बाध कामकारबाहीमा अवरोध पुर्याउने प्रयासका रूपमा व्याख्या गरेका छन्। दोषी जोसुकै भए पनि निष्पक्ष र गहिरो अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्।
उता सुरक्षा निकायले घटनाका सबै पक्षबारे थप अनुसन्धान भइरहेको जनाएको छ। गाडी पार्किङको उद्देश्य, यसमा संलग्न व्यक्तिहरूको भूमिका तथा कुनै योजनाबद्ध गतिविधि थियो वा थिएन भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको प्रहरी स्रोतले जनाएको छ।



























































