काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुरक्षाबाहेकका सबै सरकारी सेवा र सुविधाहरू नलिने निर्णय गर्दै गृह मन्त्रालयमा पत्र लेखेकी छन्।


ADVERTISEMENT


भण्डारीले बुधबारदेखि लागू हुने गरी सरकारको तर्फबाट पूर्वराष्ट्र प्रमुखलाई दिइने सेवा सुविधाहरू फिर्ता गर्नको लागि पत्र पठाएकी हुन्।


ADVERTISEMENT

# # #


गृह मन्त्रालयका अनुसार, पत्र राष्ट्रपति भण्डारीको स्वकीय सचिव राजकुमार राईमार्फत् गृह मन्त्रालयमा पेश गरिएको हो। यस निर्णयसँगै, भण्डारीले सरकारी सेवा सुविधा परित्याग गर्नेमा सम्भवतः पहिलो नेता बनेकी छन् ।

यसअघि प्रधानमन्त्री र सभामुख भइसकेका नेताहरू सरकारी सेवा सुविधा लिएरै पार्टीको कार्यकारी भूमिकामा छन् । हालै नेकपा (एमाले) मा सक्रिय राजनीतिमा फर्किएकी भण्डारीले आफ्नो सदस्यता नवीकरण पनि गराएकी छन्।

पूर्वराष्ट्र प्रमुखको हैसियतमा भण्डारीको सुरक्षा प्रोटोकल भने सरकारले निरन्तर उपलब्ध गराउनेछ। अन्य विकल्प् नभएको भन्दै उनलाई सेना तथा प्रहरीले आवश्यक सुरक्षा प्रदान गर्ने गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

सरकारले पूर्वराष्ट्रपतिलाई मासिक भत्ता, घरभाडा, इन्धन, पत्रपत्रिका खर्च, टेलिफोन खर्च, अतिथि सत्कार खर्च, बिजुली, पानी र इन्टरनेट खर्चको साथै सचिवालय (उपसचिव, गाडी चालक र कार्यालय सहयोगी) का लागि सेवा सुविधा उपलब्ध गराउने गरेको थियो।

गृह मन्त्रालयले भण्डारीलाई एक उपसचिव सरहका स्वकीय सचिव र कार्यालय सहयोगीको लागि मासिक डेढ लाख रूपैयाँ उपलब्ध गराएको जनाएको छ। यसैगरी, सुरक्षाकर्मीका लागि भाडामा लिइएको घरको खर्च पनि भण्डारीलाई उपलब्ध गराइएको छ।

यसअघि नै भण्डारीले अन्य पदाधिकारीहरूका जस्तो गाडी सुविधा लिएकी थिइनन् । तर, सरकारका तर्फबाट भने उनलाई २०७ लिटर पेट्रोल मासिक रूपमा उपलब्ध गराइएको छ ।