काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले आफूहरु नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले अहिले नीतिगत सुधारमा केन्द्रित भएको बताएका हुन् ।
नेपालको पर्यटनमा लगानी बढाउनका लागि निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले पर्यटन बोर्डका माध्यमबाट निजी क्षेत्रलाई सहजीकरण गर्ने काममा लागिरहेको जानकारी दिए । मन्त्री पाण्डेले यसअघि नै पर्यटन दशक घोषणा भइसकेको उल्लेख गर्दै कार्ययोजना बनाउने काममा लागिरहेको धारणा राखे ।
उनले हवाई सेवालाई सुरक्षित, सुलभ र भरपर्दो बनाउनका लागि मन्त्रालयले निरन्तर पहल गरिरहेको समेत जानकारी दिए । हवाई टिकट महँगो भयो भन्ने व्यापक गुनासोका सन्दर्भमा त्यसलाई घटाउन निरन्तर पहल भरहेको उनले बताए ।
उनले नेपाल एयरलाइन्सको क्षमता वृद्धि गर्ने र विदेशी एयरलाइन्सको प्रभाव कम गर्न सकिएको खण्डमा हवाई भाडा समायोजन हुनसक्ने सम्भावना देखिएको बताए । मन्त्री पाण्डेले मुलुकको आन्तरिक उडानलाई प्रभावकारी बनाउन प्रदेशस्तरमा ट्विनेटर विमान सञ्चालनका लागि पनि प्रदेशसँग समन्वय भइरहेको जानकारी दिए ।