काठमाडौँ – सैनिक विशेष अदालतले सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई सैनिक कल्याणकारी कोषमा हिनामिना गरेको अभियोगमा सेवाबाट बर्खास्त गर्ने फैसला सुनाएको छ।
सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, अदालतले खड्का र कार्की दुवैलाई सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको दोषी ठहर गर्दै भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिनेगरी बर्खास्त गर्ने निर्णय गरेको हो।
“सैनिक ऐन, २०६३ को दफा १०१ अन्तर्गत सैनिक अनुशासन, आचारसंहिता र सम्पत्ति सम्बन्धी कसुरमा यो फैसला आएको हो। यसले उनीहरूलाई भविष्यमा सरकारी सेवामा अयोग्य बनाउने प्रावधान राखेको छ,” प्रवक्ता बस्नेतले भने। “अदालतको आदेशमा अपचलन गरिएको रकम पनि दुवै जनाबाट असुलउपर गर्ने कुरा उल्लेख छ।”
सहायक रथी खड्का र मेजर कार्कीलाई सैनिक कल्याणकारी कोषको २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ ४८ पैसा हिनामिना गरेको आरोपमा सैनिक प्रहरीको हिरासतमा राखेर मुद्दा अघि बढाइएको थियो।
अदालतले उक्त रकमको हिनामिना प्रमाणित गरेको छ। साथै, सेनाबाट अवकाश प्राप्त आत्मराम थापा र लक्ष्मण अधिकारीलाई पनि दोषी ठहर गरिएको छ। थापा अहिले थुनामा छन् भने अधिकारी अमेरिकामा रहेका छन्।
सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गत आवास र बिमा शाखाबाट काल्पनिक नामहरु खडा गरी वास्तविक व्यक्तिलाई भुक्तानी नगरी रकम हिनामिना गरेको कुरा पनि अदालतले पुष्टि गरेको हो।