काठमाडौं-  प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विगतमा भएका आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई प्रहरीले नबिर्सिएको बताएका छन्। उनले प्रहरीको संस्थागत स्मृतिका आधारमा पुराना अपराधमा संलग्न व्यक्तिहरूलाई प्रमाणका आधारमा जुनसुकै बेला कानुनी कारबाहीको दायरामा ल्याउन सकिने स्पष्ट पारेका छन्।


ADVERTISEMENT


कार्कीले पुराना जघन्य अपराधका घटनाको अनुसन्धानलाई प्रहरीले प्राथमिकतामा राखेको जानकारी दिएका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत यस्ता घटनाको अनुसन्धान भइरहेको र केही घटनामा विशेष टोली गठन गरेर अनुसन्धान अघि बढाइएको उनले बताएका छन्।


ADVERTISEMENT

# # #


उनका अनुसार पुरानो घटना हुँदैमा अपराधमा संलग्न व्यक्ति कानुनी कारबाहीबाट उम्किन सक्दैनन्। अनुसन्धानका क्रममा प्राप्त प्रमाण र तथ्यका आधारमा दोषी देखिएमा कानुनी प्रक्रिया अघि बढाइने उनको भनाइ छ।

पछिल्लो समय प्रविधिजन्य तथा आर्थिक अपराध बढ्दै गएकोप्रति पनि आईजीपी कार्कीले चिन्ता व्यक्त गरे। बदलिँदो अपराधको स्वरूपसँगै प्रहरी अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए।

कार्कीले नयाँ प्रकृतिका अपराध अनुसन्धानका लागि दक्ष जनशक्ति, आधुनिक प्रविधि र आवश्यक स्रोतसाधनको विकासमा जोड दिए। अपराधको स्वरूप देशको सीमाभन्दा बाहिरसमेत फैलिन सक्ने भएकाले अन्तरदेशीय प्रहरी समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

उनले पुराना जघन्य अपराधको अनुसन्धानसँगै साइबर तथा आर्थिक अपराध नियन्त्रणलाई पनि प्रहरीले प्राथमिकताका साथ अघि बढाइरहेको बताएका छन्।