काठमाडौं –  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटबाट गुज्रिरहेको दाबी गरेका छन्।


ADVERTISEMENT


आइतबार ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मुलुकको वर्तमान अवस्था असाधारण रहेको बताए।


ADVERTISEMENT

# # #


उनले राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गको अधिकार र वैदेशिक हस्तक्षेपविरुद्धको संघर्षलाई प्राथमिकतामा राख्न नसक्दा अहिलेको संकट सिर्जना भएको स्वीकार गरे।

प्रचण्डले वर्तमान परिस्थितिको सामना गर्न कम्युनिस्ट शक्तिहरूबीच सहकार्य, एकता र पुनर्गठन आवश्यक रहेको बताए। उनले विगतका कमजोरीका विषयमा एकअर्कालाई दोष लगाउनुभन्दा सामूहिक आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार मुलुकले भोगिरहेको संकटबाट निकास निकाल्न साझा धारणा र साझा रणनीति आवश्यक छ। त्यसका लागि कम्युनिस्ट शक्तिहरूबीच सहकार्य र एकताको वातावरण बनाउनुपर्ने उनले बताए।

प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र वैदेशिक हस्तक्षेपको प्रतिरोधलाई केन्द्रमा राखेर कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिए।

उनले भने, अहिलेको परिस्थितिमा विगतका मतभेद र कमजोरीलाई मात्र कोट्याएर बस्नेभन्दा देशको संकट समाधानका लागि सबै पक्षले गम्भीरतापूर्वक सोच्नुपर्ने समय आएको छ।