काठमाडौँ — कांग्रेस बागमती संसदीय दलको नेताबाट हैसियत गुमाएका मुख्यमन्त्री बहादुरसिंह लामाको मन्त्री थप्ने योजना रोकिएको छ ।
तीन जना मन्त्री नियुक्त गर्दै सरकार विस्तारको प्रयास थालेका लामा एमालेको कडा आपत्ति र दबाबपछि लामा पछि हटेका हुन् ।
यसबीच नेपाली कांग्रेसले बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयन प्रक्रिया अघि बढाएको छ। मकवानपुरबाट निर्वाचित प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले बुधबार बिहान उम्मेदवारी दर्ता गराएका छन्। बानियाँको उम्मेदवारी सांसद याङ्किला शेर्पाको समर्थन र कृष्णकुमार तामाङको प्रस्तावमा दर्ता गरिएको हो।
साउन १३ गते लामाविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव पारित भएपछि उनले दल नेताको पद गुमाएका थिए। त्यसपछि कांग्रेसले नयाँ नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरेको हो।
बागमती प्रदेशसभामा कुल ११० जना सांसद छन्, जसमध्ये कांग्रेसका ३७ जना छन्। मंगलबार भएको मत विभाजनमा २२ सांसद बानियाँको पक्षमा उभिएका थिए भने १५ जनाले मात्र लामालाई समर्थन गरेका थिए।
नयाँ नेता चयनका लागि आजै मतदान गरिने र नतिजा पनि आजै सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।































































