काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी सम्बन्धी नयाँ विधेयक छिटै संसदमा पेश गरिने जानकारी दिइएकी छिन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको उठाएका प्रश्नको जवाफ दिदै मन्त्री रावलले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उच्च प्राथमिकताका साथ यथाशीघ्र नयाँ गुठी विधेयक संसद् पेश गरिने बताएकी हुन् । उनले विगतमा राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता भएको पृष्ठभूमिलाई ध्यानमा राख्दै हाल विज्ञ तथा सरोकारवालाहरूसँग गहन छलफल र परामर्श भइरहेको उल्लेख गरिन् । गुठी जग्गा केवल जमिनको स्वामित्व मात्र नभई धर्म, संस्कृति, परम्परा, सम्पदा संरक्षण र गुठीको आम्दानीबाट चल्ने जात्रा–पर्वहरूसँग अभिन्न रूपमा जोडिएको संवेदनशील विषय भएको उनको भनाइ छ ।
त्यस्तै मन्त्री रावलले गुठी संस्थान ऐन २०३३ अनुसार गुठी जग्गाका मोही किसानले मोही हक प्राप्त गर्ने, सो हक खरिद–बिक्री गर्न पाउने र धितो–बन्धक समेत राख्न सकिने स्पष्ट कानुनी व्यवस्था रहेको बताइन् ।
गुठी अधीनस्थ जग्गामा मोहीले गुठी संस्थानको स्वीकृति लिएर तोकिएको दस्तुर तिरी घर वा टहरा बनाउन पाउने व्यवस्था रहेकोले मोहीहरू यसप्रति नकारात्मक वा त्रसित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारिन् ।































































