काठमाडौँ — नेपाली कांग्रेसका नेता राजन केसीले बागमती प्रदेशमा संसदीय दलको नेताले नै मुख्यमन्त्री बन्नुपर्ने स्पष्ट पारेका छन्।
नेता केसीका अनुसार, कांग्रेसको विधानअनुसार केन्द्रमा प्रधानमन्त्री र प्रदेशमा मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुनु अनिवार्य छ। “संसदीय दलको नेता नै प्रधानमन्त्री हुने हो केन्द्रमा, र प्रदेशमा पनि नेता नै मुख्यमन्त्री हुने हो,” उनले स्पष्ट रूपमा भने, “त्यसमा दुईमत नै छैन।”
यद्यपि उनले नेपालको संविधानको धारा १६८ को उपधारा ५ को सन्दर्भ दिँदै भने, त्यो अवस्थामा कुनै पनि सांसदले बहुमत जुटाएमा सरकार गठन गर्न सक्ने व्यवस्था रहेको बताए। “तर अहिले त्यस्तो अवस्था आएको छैन,” उनले भने, “अहिलेको प्रक्रिया अनुसार दलको नेता बहुमतसहित अघि बढ्नेछ।”
नेपाली कांग्रेसले नेता केसीलाई बागमती प्रदेशको संसदीय दल नेता चयन प्रक्रिया अनुगमन गर्न पर्यवेक्षकका रूपमा खटाएको छ।
बागमती प्रदेश कांग्रेस संसदीय दलको नेताका लागि बुधबार चुनाव हुँदैछ। उक्त पदका लागि पूर्वमन्त्री इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामा तामाङबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
कुल ११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद छन्। संसदीय दलको नेता बन्नका लागि उम्मेदवारले कम्तीमा १९ सांसदको समर्थन आवश्यक पर्नेछ।































































