काठमाडौँ– नेपाल खेलकुद महासङ्घको केन्द्रीय पदाधिकारी बैठक राजधानी काठमाडौंको बानेश्वर हाइटस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।
केन्द्रीय अध्यक्ष परशुराम बस्नेतको अध्यक्षतामा बसेको बैठकले संगठन सुदृढीकरण, भावी कार्ययोजना तथा सांगठनिक अनुशासनका विविध पक्षमा गहन छलफल गरेको महासङ्घले जानकारी दिएको छ।
बैठकमा अध्यक्ष बस्नेतले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीप्रति समर्थन व्यक्त गर्दै भने, ‘ओली राष्ट्रको आवश्यकता हुन्, विकल्प होइन। वर्तमान राजनीतिक, सामाजिक र राष्ट्रिय चुनौतीको सामना गर्न सक्ने दृढ, स्पष्ट र निडर नेतृत्व ओलीसँग मात्रै छ।’
बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी महासङ्घका इन्चार्ज जगन्नाथ थपलियाले वर्तमान नेतृत्वको सक्रियता र प्रतिबद्धतालाई सराहना गर्दै संगठनात्मक एकता र समन्वयमा अझ सशक्त रूपमा अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
बैठकमा अध्यक्ष, उपाध्यक्ष, इन्चार्ज, महासचिव, सचिव, तथा कोषध्यक्ष लगायतको सहभागिता रहेको थियो । बैठकमा केन्द्रीय प्रचार विभागका सचिव राजकुमार ओलीले महासङ्घले राष्ट्रिय खेल नीति निर्माणमा सघाउने र खेलकुद क्षेत्रको दिगो विकासका लागि अग्रसर भूमिका निर्वाह गर्ने तयारी गरिरहेको जानकारी दिए ।
यस्ता छन् बैठकले पारित गरेका निर्णयहरूः
प्रदेशस्तरीय खेल प्रतियोगिताहरू सञ्चालन गर्ने,
खेलाडीहरूलाई समेटेर विशेष बीमा कार्यक्रम ल्याउने,
स्थानीय तहहरूसँग सहकार्य गर्दै समुदायस्तरमा खेल संरचना विस्तार गर्ने।
































































