धनगढी — नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक नेता रहेका रेशम चौधरी पक्षधरले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएको छ ।
नाउपाको राष्ट्रिय भेलाले अध्यक्ष चौधरीलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको हो । त्यसअघि मंगलबार निर्वाचन एवं अनुशासन आयोगले उनलाई कारबाही गर्ने निर्णय गरेको थियो । सोही निर्णयमा टेकेर बुधबार काठमाडौंमा आयोजित भेलाले अध्यक्ष श्रेष्ठ चौधरीलाई हटाउने निर्णय गरेको संस्थापक केन्द्रीय सदस्य बलवीर चौधरीले बताए ।
अध्यक्षसहित २१ जना केन्द्रीय सदस्य रहेको नाउपामा बुधबार आयोजित राष्ट्रिय भेलामा १२ जनाको उपस्थिति थियो । यस्तै भेलाका प्रतिनिधिहरुमा संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बोलाइएको थियो ।
भेलाले अध्यक्ष श्रेष्ठ चौधरीमाथि पाँच वटा कारण देखाएर कारबाही गरेको सहभागी नेताहरुले बताएका छन् । बैठक नबोलाएको, स्पष्टीकरण नबुझाएको, कार्यवाहक तोकेको, पोखराको लिचीबारी जग्गा अनियमितता प्रकरणमा मुछिएको र पार्टीको विधिविधान मिचेको आरोप लगाइएको छ ।
































































