काठमाडौँ – गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न निर्देशन दिएका छन् ।
शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागू औषध नियन्त्रण ब्यूरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागू औषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौतिका रुपमा देखिएको भन्दै मुलुकलाई लागू औषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न निर्देशन दिएका हुन् ।
लागू औषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति गर्ने भएकाले लागू औषधविरुद्धको महाअभियान लागू गरेको उनले बताए । विगतका वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागू औषध नियन्त्रणमा प्रगति भएको गृहमन्त्री लेखकले बताए । यस्तै गृहमन्त्री लेखकले लागू औषध ब्यूरोलाई विभागकै रुपमा विकास गर्ने प्रतिबद्धता जनाए ।
गृहमन्त्रीले लागू औषध व्युरोलाई विभागका रुपमा विकास गर्नका लागि तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापालाई निर्देशन दिए । कार्यक्रममा महानिरीक्षक थापाले लागू औषध ब्यूरोलाई विभागका रुपमा विकास गर्ने गृहमन्त्रीको प्रस्ताव सराहनीय रहेको बताए ।
































































