काठमाडौँ – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यस वर्ष विगतको १० वर्षको तुलनामा सबैभन्दा धेरै रासायनिक मल आयात गरिएको बताएका छन् ।
प्रथम राष्ट्रिय कोदो दिवसका अवसरमा कांग्रेस व्यवसायिक सिप विकास विभागले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले यस वर्ष सरकारले छुट्टाएको बजेटबाट ९८ प्रतिशत मल आयात गरेको बताएका हुन् । उक्त मल १० वर्ष यताकै सवैभन्दा धेरै भएको उनले बताए । उनले धेरै मल आयात गरेपनि अझै पनि किसानले प्रयाप्त मल नपाएको जिकिर गरे ।
मन्त्री अधिकारीले रासायनिक मलले मानवस्वास्थ्यमा असर गर्ने भएकाले आफुले प्रांङ्गारिक मलमा जोड दिएपछि त्यसका लागि छुट्टै बजेट प्राप्त हुन नसकेको गुनासो गरे । प्रांङ्गारिक मलको सहज रुपमा उपलव्ध गर्न सके कृषि उत्पादनबाट मानवस्वास्थ्यमा हुन सक्ने असरलाई न्यूनिकरण गर्न सकिने उनले बताए ।
त्यस्तै कांग्रेस व्यवसायिक सिप बिकास बिभागकी प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य गंगादेवी अवालले कृषि क्षेत्रमा सरकारले अनुदान दिएपनि वास्तबिक किसान समक्ष अनुदान पुग्न नसकेको बताइन् । उनले अर्गानिक खेतीका लागि कृषकहरुलाई प्रोत्साहन गर्न सरोकारवाला निकाय लाग्नुपर्नेमा जोड दिइन् ।
सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यका साथ हरेक वर्ष साउन १६ गते कोदो दिवस मनाउने निर्णय गरेको थियो । आर्थिक वर्ष २०८१/८२ मा रु ७६ करोड ६३ लाख ८६ हजारबराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको कृषि विभागले जनाएको छ ।
































































