काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा बसेर गल्ती गर्नेले आत्मालोचना गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीले सोधको प्रश्नमा प्रचण्डले गल्ती गर्नेले नै आत्मालोचना गर्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


त्यसअघि बैठकमा माओवादी उपमहासचिव जनार्दन शर्माले आत्मसमीक्षा आत्मालोचनासहित पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । प्रचण्डले भने बैठक जारी नै रहेकाले जसले गल्ती गरेको छ त्यसले आत्मालोचना गर्ने कुरा रहेको स्पष्ट पारे । उनले भने, ‘अहिले छलफल चलिरहेकै छ । जसले गल्ती गर्छ, उसले आत्मालोचना गर्ने कुरा हो ।’

त्यस्तै बैठकपछि माओवादी उपमहासचिव वर्षमान पुनले पार्टीभित्रको समस्याका बारेमा बैठकमा खुल्ला र स्पष्ट रुपमा राखेको बताए । बैठकमा जनार्दन शर्माले कुनै हालतमा पार्टी नछाड्ने भनेर धारणा राखेको पुनले बताए । उनले भने, ‘उहाँले म पार्टी छोड्नेवाला छैन, म यो पार्टीमै रहने हो भन्नुभएको छ ।’

त्यस्तै माओवादी प्रवक्ता अग्नि सापकोटाले आइतबारको बैठकमा अधिकांश सदस्यहरुले नेतृत्वको बिकल्प नरहेको धारणा राखेको जानकारी दिए । जर्नादन शर्माले पनि नेतृत्वको विषयमा खासै कुरा नराखेको र आफुले राखेको अन्य विषय ठिक रहेको धारणा राखेको सापकोटाले बताए ।

अहिलको अवस्थामा पार्टी, सदन र सडकको नेतृत्वको विकासका लागि प्रचण्डको विकल्प नरहेको उनले जिकिर गरे । प्रवक्ता सापकोटाले राजनीतिमा जनमत तलमाथि हुनु स्वभाविक रहेको भन्दै प्रचण्डले आत्मालोचना गर्नुपर्छ भनेर कसैले नबोलेको बताए । उनले भने, ‘नेतृत्वको विकास गर्नका लागि विचार, योजना र नीतिमा व्यवस्थित ढंगले लाग्नुपर्छ भन्ने त हो । तर, अहिले तत्कलै कम्रेड प्रचण्डको नेृतत्वलाई झन् सबल, सुदृढ र व्यवस्थित गर्नुपर्छ भन्ने छ ।’

सोमबार बस्ने स्थायी कमिटी बैठकमा वरिष्ठ उपाध्यक्ष र महासचिवले धारणा राख्ने र त्यसपछि अध्यक्ष प्रचण्डले जवाफ दिएर बैठक सम्पन्न हुने प्रवक्ता सापकोटाले बताए ।