काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनमा भएको शहादतलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।


ADVERTISEMENT


जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार भिडियो सन्देश जारी गर्दै थापाले आन्दोलनका क्रममा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।


ADVERTISEMENT

# # #


थापाले जेनजी आन्दोलनलाई केवल कुनै व्यक्ति वा राजनीतिक दलविरुद्धको आन्दोलनका रूपमा बुझ्न नहुने बताएका छन् । उनका अनुसार भ्रष्टाचारमुक्त राज्य, जवाफदेही शासन, सुशासन र समान अवसरको मागसहित एउटा पुस्ता सडकमा आएको थियो ।

जेनजीले उठाएका ती माग पूरा गर्ने जिम्मेवारी सबै राजनीतिक दल र राज्य पक्षको भएको बताउँदै थापाले नेपाली कांग्रेसले आफ्नो हिस्साको जिम्मेवारी पूरा गर्ने दाबी गरेका छन् ।

‘म र तपाईंहरूको मागअनुसार बदलिएको नेपाली कांग्रेसले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्छ, यो हाम्रो बाचा हो,’ थापाले भनेका छन् ।

उनले भ्रष्टाचारमुक्त, जवाफदेही र सुशासनयुक्त राज्य तथा समान अवसर भएको समाज निर्माणका लागि जेनजी पुस्ताले गरेको बलिदानलाई कांग्रेसले खेर जान नदिने बताएका छन् ।

थापाले भदौ २३ गते युवामाथि भएको दमन र त्यसक्रममा भएको मृत्युको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने मागसमेत दोहोर्‍याएका छन् । युवामाथि अत्यधिक बल प्रयोग किन भयो र त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नको जवाफ आउनुपर्ने उनको भनाइ छ ।

उनले केही व्यक्तिलाई पक्राउ गर्दैमा मात्र घटनाको जिम्मेवारी पूरा नहुने भन्दै सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

थापाका अनुसार भदौ २३ गते सडकमा कुनै एउटा व्यक्ति वा समूह मात्र नभई एउटा पुस्ता नै आएको थियो । त्यसैले जेनजीले उठाएको आवाजलाई कुनै एउटा दल वा व्यक्तिले आफ्नो स्वामित्वमा लिन नसक्ने उनको भनाइ छ ।

जेनजीले उठाएका प्रश्नको सम्बोधन र उनीहरूले खोजेको परिवर्तन व्यवहारमा स्थापित गर्नु नै अब राजनीतिक दलहरूको मुख्य जिम्मेवारी भएको थापाको सन्देश छ ।