इलाम– इलाममा रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयलाई धनकुटा स्थानान्तरण गर्ने सरकारी निर्णयविरुद्ध जिल्लाका प्रमुख राजनीतिक दलहरूले कडा आपत्ति जनाएका छन् ।


ADVERTISEMENT


उनीहरूले संयुक्त रुपमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै उक्त निर्णय तत्काल फिर्ता नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।


ADVERTISEMENT

# # #


सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत इलामका प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा संघीय संरचनाअनुसार सेवा जनस्तरसम्म पुर्‍याउने मूल उद्देश्य विपरित इलामस्थित कार्यालयलाई हटाउने निर्णय गैरजिम्मेवार र आपत्तिजनक भएको उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा भनिएको छ, “भौगोलिक रूपमा विकट र दुरदराज क्षेत्रमा रहेको इलाम जिल्लाबाट खानेपानी सेवा जस्तो आधारभूत सेवासम्बन्धी कार्यालय हटाइनु जिल्लावासीप्रति अन्याय हो। यस्तो निर्णयले हामी गम्भीर रूपले मर्माहत भएका छौं।”

चालु आर्थिक वर्ष २०८२/८३ बाट इलामस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयलाई धनकुटास्थित कार्यालयमा गाभ्ने निर्णय कार्यान्वयनमा लैजाँदै गरिएको भन्दै राजनीतिक दलहरूले यसअघि पनि इलामका अन्य सरकारी कार्यालयहरू हटाउँदा पर्न गएको प्रभाव र असुविधाको स्मरण गराएका छन्।

स्थानान्तरण प्रक्रिया तत्काल नरोकिएनमा जिल्लावासीको भावना, अधिकार र सेवामा प्रत्यक्ष असर पर्ने भएकाले सबै दलहरू मिलेर सशक्त आन्दोलनमा उत्रिने राजनीतिक दलहरूद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा स्पष्ट रूपमा उल्लेख छ ।

उक्त ज्ञापनपत्रको प्रतिलिपि पूर्वप्रधानमन्त्री झलनाथ खनाल, खानेपानी तथा अर्थ मन्त्रालयका मन्त्रीहरू, कोशी प्रदेशका मुख्यमन्त्री, तथा इलाम क्षेत्र नम्बर १ र २ का प्रतिनिधिसभा सांसदहरूलाई समेत पठाइएको छ।

ज्ञापनपत्रमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायत दलका जिल्ला स्तरीय नेताहरूको हस्ताक्षर रहेको छ।

इलाम जिल्लामा संघीय कार्यालयहरूको निरन्तर स्थानान्तरणले सरकारी सेवा प्रवाहमा बाधा पुगेको भन्दै स्थानीयवासी लामो समयदेखि असन्तुष्ट रहँदै आएका छन्। यसपटकको निर्णयविरुद्ध राजनीतिक तहबाटै कडा प्रतिवाद शुरु भएको हो।