हेटौँडा — नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा प्रमुख सचेतक र सदस्यसचिवको पदमा नयाँ नियुक्ति गरिएको छ। मुख्यमन्त्री तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कञ्चनचन्द्र बादेलाई प्रमुख सचेतक र मीनकृष्ण महर्जनलाई सदस्यसचिवमा नियुक्त गरेका हुन्।


ADVERTISEMENT


सांसद कञ्चनचन्द्र बादेलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको विधानको दफा ११ को उपदफा १ बमोजिम प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो। काभ्रेपलाञ्चोक क्षेत्र नं. २(२) बाट निर्वाचित बादे कांग्रेस बागमती प्रदेश समितिका महामन्त्री पनि हुन्।


ADVERTISEMENT

# # #


यसअघि साउन १३ गते दलका तत्कालीन नेता बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि साउन १४ मा दलको नयाँ नेताका लागि निर्वाचन भएको थियो। उक्त निर्वाचनमा बानियाँले २२ मत ल्याएर विजयी भएका थिए भने लामाले १४ मत प्राप्त गरेका थिए। कांग्रेसको कुल ३७ जना सांसदमध्ये बहुमतको समर्थनमा दलको नेतृत्व सम्हालेका बानियाँले त्यसयता संसदीय दलको पुनः गठन प्रक्रिया अगाडि बढाएका छन्।

त्यसै क्रममा मुख्यमन्त्री बानियाँले दलको विधानको दफा १० को उपदफा ८ अनुसार ललितपुर क्षेत्र नं। १९१० बाट निर्वाचित सांसद तथा प्रदेशका पूर्व युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई सदस्यसचिवको जिम्मेवारी दिएका हुन्। अविश्वास प्रस्ताव दर्तादेखि दल नेतृत्व चयनसम्मको प्रक्रियामा महर्जन सक्रिय भूमिकामा देखिएका थिए।

हालसम्म दलको उपनेता र कोषाध्यक्ष भने नियुक्त गरिएको छैन। तर, विधानको दफा ९ को उपदफा २ (ख) अनुसार संसदीय दलको कार्यसमिति भने बानियाँले गठन गरिसकेका छन् । साउन २० गते बागमती प्रदेशको मुख्यमन्त्री बनेका बानियाँले आगामी साताभित्र विश्वासको मत लिने तयारी गरिरहेका छन्, जसअनुरूप प्रमुख पदहरूमा नियुक्ति प्रक्रिया तीव्र बनाइएको हो।