काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको विकासका लागि वित्तीय स्रोतको परिचालनका लागि सरकारले वैकल्पिक विकास वित्त परिचालनको अवधारणा ल्याएको बताएका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि संशोधनकर्ता सांसद र विज्ञसंगको छलफलका क्रममा पौडेलले मुुलुकको दिगो विकासका लागि नयाँ वित्तीय स्रोतको परिचालन सम्बन्धी अवधारणा ल्याइएको बताएका हुन् । वैकल्पिक विकास वित्त परिचालनका माध्यमबाट हिमाल र पहाडमा ठूला आयोजना निर्माण गर्न सक्ने अवस्था सिर्जना भए जनसंख्याका निश्चित हिस्सालाई सोहि क्षेत्रमा धानेर राख्न सकिने उनले बताए ।


ADVERTISEMENT

# # #


पौडेलले आयोजनाका छनोटका सम्वन्धमा विधेयकमा आवश्यक व्यवस्था गरिएको भन्दै छलफलका आधारमा थप परिमार्जन गर्न सकिनेमा जोड दिए । उनले उच्च प्रतिफल दिने दिगो पूर्वाधारलगायत क्षेत्रमा लगानी बढाउन परियोजनाको पहिचान, प्राथमिकीकरण, आन्तरिक स्रोत व्यवस्थापन, स्वदेशी तथा विदेशी लगानी र विभिन्न वित्तीय उपकरणको यथोचित प्रयोग गर्नुपर्ने धारणा राखे । राजस्वले साधारण खर्च नै धान्न मुस्किल पर्ने अवस्थामा वैकल्पिक वित्त महत्वपूर्ण हुने उनको भनाइ छ । उनले विधेयकले कानुनको रुप लिएपछि दराजमा थन्काएर नराखिने भन्दै पूर्णरुपमा कार्यान्वयन हुने अवस्था बनाइने प्रतिवद्धता जनाए ।

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेलले वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी कोषका पदाधिकारीमा अनुभवयुक्त व्यक्तिलाई राखिनुपर्ने सुझाव दिए । उनले वैकल्पिक विकास वित्त परिचालन गरेर मुलुकलाई दिर्घकालीन रुपमा फाइदा हुने राष्ट्रिय महत्वका आयोजनालाई अघि बढाउन मद्धत पुग्ने जिकिर गरे ।

विधेयकमाथि सोमबारबाट दफावार छलफल हुने समितिले जनाएको छ । विधेयकमाथि सांसदहरुले ६६ संशोधन दर्ता गराएका थिए । मुलुकको समृद्धि, दीगो विकास तथा उत्पादकत्व वृद्धिका लागि अत्यावश्यक पूर्वाधार परियोजना कार्यान्वयन गर्न परम्परागत लगानीका अतिरिक्त वैकल्पिक वित्त परिचालन आवश्यक रहेको भन्दै सरकारले उक्त विधेयक ल्याएको हो ।